कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्ला नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालयको मातहतमा कार्यरत जिल्लास्तरीय निकाय हो। जिल्लास्थित संघीय सरकारी कार्यालयहरूलाई बजेट निकासा गर्ने, आन्तरिक लेखापरीक्षण गर्ने तथा विनियोजन, राजश्व, धरौटी लगायतका वित्तीय विवरणहरूको एकीकृत प्रतिवेदन तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने उद्देश्यले आय-व्यय सञ्चालन कार्यविधि नियमावली, २०३८ बमोजिम वि.सं. २०३८ साउन १ गतेदेखि जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको स्थापना गरिएको हो। सोही व्यवस्था अन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्ला वि.सं. २०३९ सालमा स्थापना भएको हो ।
प्रारम्भिक चरणमा मालपोत कार्यालय तथा केन्द्रीय निकायमार्फत बजेट निकासा हुने व्यवस्था रहेकोमा पछि जिल्लास्तरमै कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना गरी चौमासिक निकासा, मासिक सोधभर्ना निकासा लगायतका प्रणालीमार्फत बजेट निकासाको कार्य हुँदै आएकोमा, सूचना प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी, मितव्ययी, प्रभावकारी तथा रियल-टाइममा आधारित बनाउन वि.सं. २०६६ माघ १ गतेदेखि एकल खाता कोष प्रणाली (Treasury Single Account-TSA) लागू गरिएको हो। उक्त प्रणालीमार्फत सरकारी कार्यालयहरूको माग अनुसार Electronic Fund Transfer (EFT) प्रणालीद्वारा भुक्तानी तथा निकासा गर्ने, सरकारी राजश्व तथा धरौटी रकम एकीकृत रूपमा व्यवस्थापन गर्ने र नगद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कार्य भइरहेको छ। हाल Integrated Public Finance Management System (IPFMS) मार्फत वित्तीय प्रणालीलाई थप एकीकृत, प्रविधिमैत्री तथा प्रभावकारी बनाइएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्लाले जिल्लास्थित संघीय सरकारी कार्यालयहरूको बजेट निकासा, भुक्तानी, वित्तीय नियन्त्रण तथा व्यवस्थापनमा आवश्यक समन्वय र सहजीकरण गर्दै आएको छ। साथै कार्यालयले Computerized Government Accounting System (CGAS), Public Assets Management System (PAMS) लगायतका प्रणाली सञ्चालनका लागि प्रयोगकर्ता आईडी तथा पासवर्ड वितरण गर्ने, कार्यालयहरूको खाता सञ्चालनसम्बन्धी दस्तखत नमुना कार्ड प्रमाणित गर्ने तथा वित्तीय प्रणाली सञ्चालनमा प्राविधिक सहयोग प्रदान गर्ने कार्यसमेत गर्दै आएको छ।साथै कार्यालयले जिल्लास्थित संघीय सरकारी कार्यालयहरूको आन्तरिक लेखापरीक्षण गर्ने, सुझावसहितको प्रतिवेदन जारी गर्ने, विनियोजन, राजश्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य कोषहरूको एकीकृत वित्तीय विवरण तयार गरी सम्बन्धित निकायमा पेश गर्ने लगायतका कार्यहरू प्रचलित कानूनबमोजिम सम्पादन गर्दै आएको छ।
हुम्ला जस्तो दुर्गम जिल्लामा सरकारी वित्तीय प्रशासनलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा प्रभावकारी बनाउँदै सार्वजनिक स्रोत साधनको समुचित परिचालनमा सहयोग पुर्याउने प्रमुख निकायका रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्लाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।